-
-
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं


श्रीगोदादेवी, भूदेवीको अंशको रूपमा श्री विल्लिपुत्तूर् क्षेत्रमा श्रीविष्णुचित्तसूरिको तुलसी वनमा उहाँकी प्रियपुत्रीकाे रूपमा प्रकट हुनुभएको थियो ।
श्रीगोदादेवी, भूदेवीको अंशको रूपमा श्री विल्लिपुत्तूर् क्षेत्रमा श्रीविष्णुचित्तसूरिको तुलसी वनमा उहाँकी प्रियपुत्रीकाे रूपमा प्रकट हुनुभएको थियो । कर्कट (श्रावण) मासको 'पूर्वफल्गुनी' उहाँको अवतारनक्षत्र हो । तमिल भाषामा 'कोदै' भनेर उहाँका पिता श्रीविष्णुचित्तसूरिले नामकरण गरिदिनुभयो । संस्कृत भाषामा भएका आकारान्त स्त्रीलिंगशब्दहरू तमिलमा ऐकारान्तका रूपमा परिणत
हुन्छन् । 'गोदा' शब्द, 'कोदै' भयो । एक एक वर्गमा यौटै अक्षर मात्र तमिलमा उपलब्ध छ । 'गोदै'लाई 'कोदै' भन्ने तमिलभाषाको व्यावहारिक उच्चारण हो । 'कोदै' शब्दको 'माला' भन्ने पनि अर्थ हुन्छ । प्रेमपूर्वक 'माला' भनेर श्रीविष्णुचित्तसूरिले बोलाउने गर्नुहुन्थ्यो । “गां ददातीति-गोदा" दिव्यप्रबन्धरूपी वाङ्माला प्रदान गर्नुभएको हुनाले 'गोदा' भन्ने नाम अन्वर्थ छ । बाल्यकालदेखि नै सहज भक्तिभावले युक्त श्रीगोदादेवीले शिरमा धारण गरेका मालाहरूलाई वटपत्रशायीप्रभुले स्वीकार गर्नुभयो । आफ्ना पितामा विद्यमान उत्तमगुण र संस्कारहरू गोदादेवीलाई सहज रूपमै प्राप्त हुँदै गए । अत्यद्भुत वेदान्तार्थले गर्भित २ वटा दिव्यप्रबन्धहरू गाएर उता ईश्वरलाई र यता जीवराशिलाई पनि आ-आफ्ना कर्तव्यहरू बोध गराएर यी गोदाम्बाले पूरै जगत्को आचार्यत्व वहन गरेको विधानै अतिविलक्षण छ ।।
आफ्नो तिरुप्पावै (श्रीव्रत) ग्रन्थद्वारा धनुर्मासव्रतको गोपीभावनाको साथमा स्वयंले आचरण गरेर लोकलाई राम्रो उपदेश दिनुभएकी यी माता श्रीगोदादेवीको औदार्य, आल्वार्हरूको भन्दा पनि अत्युत्तम छ । “तिरुप्पावै” ३० गाथाको ग्रन्थ हो । यो जगद्विदितै छ । दोस्रो उहाँको प्रबन्ध, "नाच्चियार्तिरुमोलि” नामले प्रसिद्ध छ । यसमा १४३ गाथाहरू छन् । अमृतरसभरित यी दुवै ग्रन्थहरू अत्यद्भुत वाङ्मयका
रूपमा दक्षिणभारतमा सम्मानित छन् । तिरुप्पावैप्रबन्धको अनुसन्धानमा तन्मय भएर रहने श्रीभगवद्रामानुजस्वामीजी, “तिरुप्पावैजीयर्” नामले लोकप्रसिद्ध हुनुभयो । श्रीकृष्णावतारको सौलभ्य र उहाँका बाल्यलीलाहरूलाई श्रीगोदादेवीले “नाच्चियार्तिरुमोलि” प्रबन्धमा प्रचुरमात्रामा वर्णन गर्नुभएको छ । तिरुमालिंरुशोलै, (वनाद्रि) वृन्दावन जस्ता दिव्य क्षेत्रहरूको वैभवलाई श्रीगोदादेवीले अतिसुन्दर ढंगले वर्णन गर्नुभएको छ ।।
श्रीआण्डाल्को तिरुनक्षत्रतनियन्-
कर्कटे पूर्वफल्गुन्यां तुलसीकाननोद्भवाम् ।
पाण्ड्ये विश्वम्भरां गोदां वन्दे श्रीरङ्गनायकीम् ।।
“गां ददातीति-गोदा" दिव्यप्रबन्धरूपी वाङ्माला प्रदान गर्नुभएको हुनाले 'गोदा' भन्ने नाम अन्वर्थ छ ।
| जन्मस्थान | श्री विल्लिपुत्तूर् |
| जन्म महिना | साउन |
| जन्म नक्षत्र | Purva Phalguni |