• श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं

Shreemad Ramanujacharya

श्रीमद् रामानुजाचार्य स्वामीजीको संक्षिप्त परिचय

श्रीमद् रामानुजाचार्य स्वामीजीको अवतार विक्रम संवत् १०७३ वैशाखको आद्र्रा नक्षत्रमा तमिलनाडुमा स्थित श्रीपेरुम्बुदूर नामक स्थानमा भएको हो । वहाँ श्रौत कर्म निष्ठ श्रीकेशव सोमयाजी र श्री कान्तिदेवी चतुर्थ सन्तानका रुपमा प्रकट हुनु भएको हो । श्रीरामानुजाचार्य वैैदिक सनातन परम्पराको मेरुदण्ड हुनुहुुन्छ । वहाँलाइ संस्कृत र तमिलको मिलन विन्दु भनिन्छ वैदिक सिद्धान्त र पाञ्चरात्रादि तन्त्रहरुलाई एउटै अँगालोमा सँगालेर चल्ने श्रीरामानुजाचार्य समन्वयवादी मात्र नभई महान् समन्वयकारी पनि हुनुहुन्छ । अधिकृत व्यक्तिहरुका लागि मात्र उपदेश गरिएका वैदिक कर्मकाण्ड र उपासनाको जटिल जाल भित्र बाट सर्वसुलभ भक्ति÷प्रेममार्ग र शरणागति सिद्धान्तलाई खोजी त्यसलाई मजबूत शास्त्रीय आधार दिई प्रतिष्ठापित गर्ने प्रथम आचार्य श्रीरामानुजाचार्य नै हुनुहुन्छ ।

श्रीभाष्य (ब्रह्मसूत्र) को रचना गरी वहाँले नै सर्वप्रथम भगवत्प्रेमलाई मोक्ष साधनको रुपमा स्थापित गर्नु भयो । यो आचार्य कै योगदान हो कि वैदिक धर्ममा वर्ग, वर्ण, लिङ्ग आदि भेद बिना मानव मात्रले भक्तिसिद्धान्तको अनुसरण गरी आफ्नो आध्यात्मिक प्रगति गरी रहेका छन् । सम्पूर्ण जीव र जगत् भगवान् द्वारा निर्मित र भगवान्को अंशरुप भएको हुनाले भगवत्प्रेमको पक्वावस्था भागवत प्रेम (भगवत्सम्बन्धी सम्पूर्ण सृष्टिमा प्रेम ) हुनु पर्ने बताएर आचार्यले धर्मलाई लौकिक रुपमा पनि प्रासङ्गिक र अनिवार्य सिद्ध गर्नु भयो ।

श्रीरामानुजाचार्य द्वारा स्थापित दर्शन विशिष्टाद्वैत हो । यसमा लक्ष्मीनारायण भगवान् नै संसारका पिता माता हुनुहुन्छ । वहाँको भक्ति र वहाँका सन्तान सँग प्रेम गर्नु नै सर्व श्रेष्ठ धर्म हो भन्ने प्रतिपादित छ । शास्त्रीय सिद्धान्तको प्रवचन र लेखन मात्र न गरी वहाँले स्वयं यसको प्रयोग पनि गर्नु भयो । गद्यत्रयमा भगवान् शरणागति गर्नु गुरुले रहस्यमा दिएको मन्त्रलाई सर्वहिताय प्रकाशित पार्नु, अन्त्यकुलका मारिनेर् नम्बिमा श्रद्धा राख्नु यादवाद्रि स्थित मन्दिरमा चाण्डाल प्रवेश गराउनु वैदिक धर्मको इतिहासमै क्रान्तिकारी कदम हुन् । यहाँ यो पनि ध्यातव्य छ कि श्री आचार्यका प्रत्येक आचरण क्रान्तिकारी भए पनि तिनमा शास्त्र मर्यादाको उच्छृङ्खल उल्लङ्घन कतै पनि छैन । शास्त्रका सामान्य र विशेष निर्देशको आफ्नो तीक्ष्ण दृष्टिले परख गरेर कहाँ सामान्य नियम अनुसार गर्नु पर्ने र कहाँ विशेष नियमानुसार आचरण हुनुपर्ने भन्ने विवेक श्रीरामानुजाचार्यमा निखे्रर देखिए जसरी अन्यत्र देखिदैन ।

यो ऐतिहासिक तथ्य हो कि भक्तिको धारा दक्षिण भारत बाटै प्रवाहित भएको हो । “उत्पन्ना द्रविडे चाहम्” “कलौ खलु भविष्यन्ति” इत्यादि वचनहरु यसमा प्रमाण छन् । तमिलनाडु यो भक्ति आन्दोलनको केन्द्र हो र श्रीरामानुजाचार्य यसको दिग्विजयी नेता । यो पनि त्यति नै सत्य हो कि दक्षिणको यही भक्तिसिद्धान्त श्रीरामानन्दाचार्य, श्रीनिम्बाकाचार्य आदि महनीय आचार्यहरु द्वारा उत्तरमा प्रचारित भयो । मुस्लिम आक्रान्ताहरुद्वारा तहस नहस भई रहेको हिन्दू धर्म र विचलित हिन्दू चेतनालाई एक सूत्रमा बाँधेर दृढ बनाई राख्ने काम यही भक्ति आन्दोलनले गर्यो । अतः न केवल वैष्णव समाज अपितु सम्पूर्ण आधुनिक हिन्दू समाज श्रीरामानुजाचार्यको यो उपकारको ऋणी नै छ ।

श्रीरामानुजाचार्यले तमिलनाडुको श्रीरङ्गम् क्षेत्र बाट भक्ति आन्दोलनको शुरुवात गर्नु भयो । श्रीरङ्गम् मन्दिरको सम्पत्ति–परिसर कार्य बहुलताको आकलन गर्दा त्यस मन्दिरको निर्वाह सानोतिनो राज्य निर्वाह भन्दा कम छैन । अनेक विसंगति, पुजारीहरुको आपसी कलह ,श्रीरङ्ग मन्दिरको अकूत सम्पदाको दुव्र्यवस्थापनलाई हटाई श्रीरामानुजाचार्यले मन्दिर सञ्चालनमा वेद, वेदान्त, दर्शन, आगम र स्थानीय भक्तहरुका स्तुति आदिलाई समेटेर गरेको निर्वहणको अध्ययन गर्दा आधुनिक प्रबन्धन विज्ञहरु आश्चर्यचकित हुन्छन् ।

वर्षको ३६५ दिनमा ३२०दिन उत्सव हुने परम भव्य श्रीरङ्मन्दिरको व्यवस्थालाई सम्हाल्दै तात्कालिक शैव—वैष्णव कलहमा शैव शासनको अत्याचारको प्रतीकार गर्दै वेदान्तका उल्झिएका र उल्झाइएका रहस्यहरुलाई सुल्झाउँदै परस्पर विरुद्ध लाग्ने वेद मन्त्रहरुको विरोध न हुने गरी अर्थ गर्दै महाभारत र रामायणको सिद्धान्तको समन्वयन गर्दै र दिग्भ्रमित पार्ने शैली भएका नाना पुराणहरुको तात्पर्यलाई निगमित गर्दै श्रीरामानुजाचार्यद्वारा गरिएको श्रीभाष्य रचना अवश्य नै अतिमानव कर्म हो ।

यसमा श्री आचार्यले संसारलाई मिथ्या भनेर उपेक्षा न गरीकनै श्रुति द्वारा उपदिष्ट अद्वैत तत्वलाई सिद्धान्तको रुपमा प्रतिष्ठापित गर्नु भएको छ । श्रीभाष्य,वेदान्तसार, वेदान्तदीप —यी तीन ब्रह्मसूत्रको व्याख्यापरक ग्रन्थहरु,शरणागति गद्य, श्रीरङ्गगद्य, श्रीवैकुण्ठगद्य यी तीन भगवत्प्रेमले आप्लावित ग्रन्थहरु,उपनिषद्हरुको अर्थलाई बताउने वेदार्थसङ्ग्रह, आचारपद्धतिको उपदेश गर्ने नित्यग्रन्थ र श्रीमद्भगवद्गीताभाष्य कुल यी नवरत्न समान नवग्रन्थहरु श्रीरामानुजाचार्य द्वारा विरचित हुन् ।

श्री आचार्यका यी शब्द परम्पराहरुले त लोकमा विलक्षण आलोक फैलाई सम्पूर्ण विश्वलाई विशेष गरी हिन्दू समाजलाई प्रत्यक्ष अप्रत्यक्ष रुपले उपकृत गरेकै छ । वहाँका शिष्य परम्पराबाट पनि समाज त्यति नै उपकृत छ । श्रीस्वामीजीको शिष्य संख्या निकै ठुलो भए पनि वहाँका प्रधान शिष्यहरु श्रीदाशरथि, श्रीकूरेश, श्रीकुरुकेश, श्रीगोविन्द, श्री अनन्त, श्रीदयापाल मुनि, श्री आन्ध्रपूर्ण, श्रीविष्णुचित्त हुनुहुन्छ ।

यहाँका शिष्यहरुको माहात्म्य,ज्ञान, भक्ति, वैराग्य, आचार्यनिष्ठा श्रीरामानुजाचार्यको विराट् व्यक्तित्वको अनुरुप परम विलक्षण र अन्यत्र दुर्लभ छ । यद्यपि समकालीन व्यक्तिहरु नै उन उन आचार्यका शिष्यका रुपमा प्रसिद्ध हुन्छन् तर श्रीसम्प्रदायमा श्रीरामानुजाचार्यलाइ नै मुख्य आचार्यको रुपमा मानिन्छ। आचार्यत्वपूर्ति श्रीरामानुजाचार्यमा नै छ । वहाँ भन्दा पश्चाद्वर्ती श्रीवैष्णवहरुका लागी मात्र नभएर वहाँ भन्दा पूर्ववर्ती श्रीवैष्णवहरुका लागि पनि श्रीरामानुजाचार्य आचार्य कै रुपमा प्रतिष्ठित हुनु भएको छ । श्रीसम्प्रदायमा यस विषयमा यो श्लोक प्रसिद्ध छ ।

अर्वाञ्चो यत्पदसरसिजद्वन्द्वमाश्रित्य पूर्वे ।

मूध्र्ना यस्यान्वयमुपगता देशिका मुक्तिमापुः ।।

अर्थात् श्रीरामानुजाचार्यका पश्चाद्वर्ती आचार्यहरु वहाँको चरणमा प्रणाम गर्ने भएकोले त्यस चरणको सम्बन्धले मुक्त हुनु भयो र श्रीरामानुजाचार्यका पूर्ववर्ती आचार्यहरुको चरणमा वहाँले आफ्नो शिरले प्रणाम गर्नु हुने भएकोले त्यस शिरको सम्बन्धले मुक्त हुनु भयो ।

यस प्रकार श्रीवैष्णव सम्प्रदायमा सबैको उज्जीवन हेतु श्रीरामानुजस्वामी सँगको सम्बन्ध नै मानिन्छ । स्वयं वहाँका परमगुरु श्रीयामुनाचार्यले शिष्यहरुको श्रीरामानुजस्वामी सँग सम्बन्ध बनोस् भन्ने उद्देश्यले श्रीरामानुजलाई उपदेश दिन योग्य रहस्यार्थहरु अलग अलग आफ्ना पाँच शिष्यहरुलाई सुनाउनु भएको थियो । पछि श्रीरामानुजाचार्यले पनि पाँचै गुरुहरुको सन्निधि रहेर उपदेश प्राप्त गर्नु भयो । श्रीपराङ्कुशदासस्वामीजीबाट द्वयमन्त्रार्थ र प्रथम तीन हजार दिव्यप्रबन्ध, श्रीगोष्ठीपूर्णस्वामीजीबाट श्रीमदष्टाक्षर मन्त्रको अर्थ, श्रीमालाधर स्वामीजीबाट सहस्रगीतिको अर्थ, श्रीशैलपूर्ण स्वामीजीबाट श्रीरामायण, श्रीवररङ्ग स्वामीजीबाट चरमपर्वनिष्ठा आदि गूढ अर्थहरु उपदिष्ट भएका हुन् ।

यस कारण श्रीरामानुजाचार्य “पञ्चाचार्यपदाश्रितः” को रुपमा प्रसिद्ध हुनुहुन्छ । आफ्ना आचार्यहरुको इच्छा बमोजिम काश्मीर, बदरिकाश्रम,मुक्तिक्षेत्र,अयोध्या आदि अनेक दिव्यक्षेत्रहरुको यात्रा गरी द्रविड क्षेत्रमा शुरु भएको भक्ति आन्दोलन लाई व्यापक स्तरमा पुर्याउने काम पनि श्रीरामानुजाचार्य द्वारा नै भयो ।

यसरी आज न केवल श्रीवैष्णव सम्प्रदायलाई किन्तु सम्पूर्ण हिन्दू जनतालाई नै भक्तिमार्ग, सर्ववर्गसमन्वय, सामाजिक उत्थानको शास्त्रीय प्रक्रिया आदिको पहिलो पटक उपदेश गरी उपकृत गर्दै श्री आचार्यले आफ्नो १२० वर्षको आयुमा श्रीरङ्गम् क्षेत्रमा इहलीला समाप्त गर्नु भयो ।

श्रीसम्प्रदायमा वहाँका १२ नामहरु प्रसिद्ध छन् ।

१. इलैयाल्वार्— श्रीशैलपूर्ण स्वामीजी द्वारा प्रदत्त ।

२. रामानुज— श्रीशैलपूर्ण स्वामीजी द्वारा प्रदत्त ।

३. भूतपुरीनाथ—श्रीशैलपूर्ण स्वामीजी द्वारा प्रदत्त ।

४.यतिराज—श्रीवरदराज भगवान् द्वारा प्रदत्त ।

५. स्वामी(उडैयवर्)—श्रीरङ्गनाथ भगवान् द्वारा प्रदत्त ।

६. देशिकेन्द्र— श्रीवेंकटेश भगवान् द्वारा प्रदत्त ।

७. श्रीभाष्यकार— श्रीशारदादेवी द्वारा प्रदत्त ।

८. तिरुप्पावै जीयर्— श्री महापूर्ण स्वामीजी द्वारा प्रदत्त ।

९. एम्पेरुमानार्— श्री गोष्ठीपूर्ण स्वामीजी द्वारा प्रदत्त ।

१०.नङ्कोयिलण्णर्— श्रीगोदादेवी द्वारा प्रदत्त ।

११. शठकोपन् पोन्नडि—श्रीमालाधर स्वामीजी द्वारा प्रदत्त ।

१२.लक्ष्मणमुनि— श्रीरङ्गामृतकवि द्वारा प्रदत्त ।

श्रीरामानुजाचार्यको अन्तिम उपदेश

१. वेदान्त ग्रन्थ श्रीभाष्यको अध्ययन र अध्यापन योग्यतानुसार श्रीवैष्णवले गर्नु । यति गर्न न सकिए–

२. दिव्य प्रबन्धहरुको अर्थज्ञान पूर्वक अध्ययन र अध्यापन गर्नु । यति पनि दुष्कर भए–

३. दिव्यदेशहरुमा (भगवान्को मन्दिरहरुमा) तदीयाराधना गर्नु । यो पनि सम्भव न भए–

४. श्रीयादवाद्रिमा एउटा झोपडी बनाई बस्नु । यो सम्भव नभए–

५. महान् भागवतहरुको सङ्ग मिल्ने स्थानमा दरिद्रता सहेर भएपनि बस्नु । यसमा पनि शक्ति नभए–

६. द्वयमन्त्रको अर्थलाई निरन्तर मनन गरी रहनु । यो पनि अशक्य भए–

७. कुनै महाभागवतको प्रिय बनेर बस्नु ।

परिचय

काल 11th
जन्मस्थान तमिलनाडुमा
जन्म महिना वैशाख
जन्म नक्षत्र Ardra

अन्य आलवारहरू

Go Back Top