-
-
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं
श्रीवैष्णव परिषद् नेपाल, केन्द्रीय कार्यालय, खरिबोट, कुमारीमार्ग, बत्तीसपुतली–९, काठमाडौं


“भक्तिसारमुनि” यी आल्वार्को संस्कृतनाम हो
यी आल्वार्को संस्कृतनाम हो ।
चेन्नैपट्टणबाट लगभग १५ मैल दूरीमा विद्यमान "तिरुमजिशै" भन्ने दिव्यक्षेत्रमा यहाँको अवतार भएको थियो । यसै क्षेत्रलाई 'महीसारपुरम्' भन्ने संस्कृतनामले व्यवहार गरिन्छ ।
परमपूज्य तपःस्थलीको रूपमा पुराणहरूमा यस क्षेत्रको वर्णन गरिएको छ । महर्षिहरूले तपस्या गरेको उत्तमोत्तम क्षेत्रको रूपमा प्रामाणिक पूर्वाचार्यहरूले चरित्र ग्रन्थ (गुरुपरम्पराप्रभावादि) हरूमा यस क्षेत्रको वैशिष्ट्य बताउनुभएको छ । यी आल्वार्को भृगुवंशमा अवतार भएको थियो । यहाँले विभिन्न मतहरूमा सञ्चार गरेर तत्तन्मतहरूमा विद्यमान असमग्रतालाई राम्रोसँग परिशीलन गरेर अन्तिममा श्रीवैष्णवसिद्धान्तमा प्रवेश गर्नुभएको थियो । विशेषरूपमा पेयाल्वार् नामक महायोगीले यहाँलाई सुधार्नुभएको थियो ।।
"परतत्त्व नबुझेर धेरै दिन व्यर्थमा व्यतीत गरेँ” भनेर उहाँले आफ्नो दिव्यप्रबन्धमा पश्चात्ताप व्यक्त गर्नुभएको छ । आत्मस्वरूप र भगवत्स्वरूपको विषयमा ज्ञानोदय भएको दिनलाई नै उहाँले जन्मदिन मान्नुभएको छ । मकरमासको 'हस्ता' नक्षत्र उहाँको अवतारदिन हो । ।
९६ पाशुर (गाथा) हरूले युक्त "नान्मुगन्तिरुवन्दादि” र १२० गाथाहरूले युक्त “तिरुच्चन्दविरुत्तम्” नामक दुइवटा दिव्यप्रबन्धहरू उहाँका अत्यद्भुत कृति हुन् । विलक्षण
कवित्व उहाँका द्राविडदिव्यप्रबन्धहरूमा पदे पदे देखिन्छ ।
समग्ररूपमा र अतिदृढताको साथमा श्रीमन्नारायणप्रभुका जगत्कारणत्वादि गुणहरूलाई यहाँले आफ्ना दुबै प्रबन्धहरूमा प्रतिपादन गर्नुभएको छ । यहाँको अगाधभक्तिले परवश भएर "शोन्नवण्णं शेय्द पेरुमाल्” भन्ने तमिल नाम अनुसार यहाँले बताएकै अनुरूप काञ्चीपुरम्मा विराजमान यथोक्तकारी भगवान् विधेय भएर रहनुहुन्थ्यो । त्यो तमिलनामको "यथोक्तकारी" भन्ने नाम अनुवाद हो । यहाँको 'तिरुच्चन्दविरुत्तम्' नामक प्रबन्ध, संस्कृतको पञ्चचामर वृत्तकै समान अतिमधुर कर्णरसायनको रूपमा दक्षिणभारतका दिव्यदेशहरूमा श्रवण गर्न सकिन्छ । रागको साथमा महापुरुषहरूले गाउँदा अत्यन्त श्राव्य हुन्छ । यी भक्तिसार आल्वार्लाई भगवान्को श्रीसुदर्शनचक्रको अवतारको रूपमा महापुरुषहरूले गौरव गर्नुहुन्छ ।।
यहाँको अवतारतनियन्-
मघायां मकरे जातं चक्रांशं भार्गवोद्भवम् ।
महीसारपुराधीशं भक्तिसारमहं भजे ।।
९६ पाशुर (गाथा) हरुले युक्त “नान्मुगनतिरुवन्दादि” र १२० गाथाहरुले युक्त “तिरुच्चन्दविरुत्तम्” नामक दुईवटा दिव्यप्रबन्धहरु उहाँका अत्युत्तम कृति हुन्
| जन्मस्थान | तिरुमजिशै |
| जन्म महिना | माघ |
| जन्म नक्षत्र | Magha |